तावहाँङ्ग बँशावली छिट्टै नै प्रकाशन हुने तयारी मा छ । ---- पोल् स्टार !

Monday, August 29, 2011

प्रधानमन्त्री चढ्ने 'मुस्ताङ' गाडी

भाद्र१२ -प्रधानमंत्री ले आफ्नै देश मा बनेको मुस्तांग गाड़ी चढ़ने भएका छन। डेढ दशकदेखि गाडी उत्पादन गर्दै आएको यहाँको १७ नम्बर वडास्थित हुलास मोटर्स कम्पनीमा इन्जिनियर प्रफुल दास आइतबार निकै हषिर्त थिए । कारण थियो, नवनियुक्त प्रधानमन्त्री डा. बाबुराम भट्टराईको स्वदेशमै उत्पादित गाडी हुलास मुस्ताङ चढ्ने चाहना । आइतबार सदनमा निर्वाचन भइरहँदा दास कारखानामा उत्पादन भइरहेका गाडीमध्ये प्रधानमन्त्रीका लागि उपयुक्त हुने के-के सुविधा थप्न सकिन्छ भन्दै योजना गरिरहेका थिए । डा. भट्टराईले मुस्ताङ म्याकस चढ्ने खबर कारखानाभरि सबैले थाहा पाए । हर्ष बाँडे । 'हामीले अहिले उहाँलाई दिएको डमी गाडी हो,' इन्जिनियर दास भन्छन्, 'बढीमा डेढ महिनाभित्र हामी उहाँलाई मुस्ताङ म्याक्स अत्याधुनिक गाडी उपलब्ध गराउँछौं ।' उनका अनुसार २५४० सीसीको डिजेल इन्जिन उक्त गाडी नेपालका सबैजसो भूभागका लागि उपयोगी छ । मुस्ताङदेखि ताप्लेजुङ र संखुवासभासम्म टेस्ट ड्राइभमा आफैं गएर क्षमता वृद्धिका लागि काम गरेका दास भन्छन्, 'यो बाहिरबाट आयात भइरहेका लग्जरीयस गाडीभन्दा सस्तो, कम खर्चिलो र सर्भिसिङको धेरै झन्झट नपर्ने खालको छ ।' मुलुककै एकमात्र स्वदेशी गाडी उत्पादक कारखाना प्रतिस्पर्धाको बजारमा आफ्नै गतिमा छ । मुस्ताङ म्याक्स हुलास मोटर्सको सबैभन्दा पछिल्लो उत्पादन हो । किसानका लागि उपयोगी हुने पावरकार्टबाट उत्पादन थालेको उक्त कम्पनीले असजिलो कर प्रणाली र प्रतिस्पर्धात्मक बजारमा नाक जोगाउनकै लागि काम जारी राखेको महाप्रबन्धक सुरेन्द्र गोल्छा बताउँछन् । भन्छन्, 'हामीले उत्पादन थाल्यौं, कम्पनी नाफामा जान सकेन । तर नाककै लागि पनि उत्पादन रोकेका छैनौं, जारी छ ।' एक दशकमा डिजाइनमा गरिएका फेरबदलले हुलास मुस्ताङ म्याक्सम्म आइपुगेको उत्पादन केही राहत दिने खालेको भएको उनले बताए । हुलास मोटर्सले गाडी उत्पादनका लागि केही सामान चीन, केही भारतीय कम्पनी र चेसिजलगायत केही पूर्वाधारका सामान आफैं बनाएर गाडी तयार पार्ने गरेको छ । गोल्छा भन्छन्, 'हाम्रो प्रचार भड्किलो छैन, जसले गाडीको क्षमता बुझ्छन्, उनीहरूले खोज्छन् । हामी बनाएर दिन्छौं ।' उनका अनुसार १४ लाखदेखि सुविधाअनुसार बढीमा २० लाखसम्म पर्ने मुस्ताङ गाडीमा गोरखकालीका टायर प्रयोग गरिएका छन् । सिट र बनोटमा धेरै सामान स्वदेशमै उत्पादन गरिएका उपयोग भएका छन् । लटमा ३/३ दिनको फरक पारेर पाँच गाडी उत्पादन गर्न छिटो गरे ५२ दिन लाग्ने प्राविधिकहरूको भनाइ छ । प्रधानमन्त्रीले नै स्वेदशी गाडी चढ्ने भएपछि उत्पादन प्रवर्द्धनका निकै आशावादी देखिएका गोल्छा भन्छन्, 'धेरै उतारचढाव भोगेर पनि हामीले कारखानालाई बन्द गरेनौं । बरु चाहिने पूर्वाधार थप्दै ल्याएका छौं । नेपाली उत्पादनको दिन फेरिन्छ भन्ने आस लागेको छ ।'

No comments:

Post a Comment

सभ्य भाषा मा कमेन्ट्सहरु लेख्नु होला। कमेन्ट्स पोस्ट गर्न comment as भएको मा select profile गरेर Anonymous लाई क्लिक गर्नु होला,त्यसपछी publish मा क्लिक गर्नु होला